Pages

Monday, July 4, 2011

नेपालमा चीनको कुनै देशसँग प्रतिस्पर्धा छैन

नवनियुक्त चिनियाँ राजदूत याङ हौलान काठमाडौं आएको ११ औं दिनमा गत बुधबार कान्तिपुर र दी काठमान्डू पोस्टसँग अन्तरवार्ताका निम्ति तयार भए । सन् २००६ देखि दुई वर्षसम्म द्वन्द्वोत्तर अफगानिस्तानमा राजदूत रहेका याङ २००८ देखि नेपाल आउनु अघिसम्म कोरियाली प्रायद्वीपसम्बन्धी मामिलामा चिनियाँ राष्ट्रपतिका विशेष दूत थिए । अमेरिकाको जर्ज वासिङ्टन विश्वविद्यालयमा पढेका उनी यसअघिका चिनियाँ राजदूतभन्दा फरक, अंग्रेजी भाषामा पोख्त छन् । प्रस्तुत छ ५५ वर्षीय याङसँग सुधीर शर्मा र अखिलेश उपाध्यायले लिएको अन्तरवार्ताको सम्पादित अंशः
नेपालमा चीनका मुख्य चासो र रणनीतिक स्वार्थ केके हुन् ?


चीनका १४ छिमेकीमध्ये तिब्बत स्वायत्त प्रदेशसँग सीमा जोडिएको छिमेकी भएकाले नेपालले चीनको छिमेक-कूटनीति र समग्र कूटनीतिमा महत्त्वपूर्ण स्थान राख्छ । राजनीतिक रूपमा चीन र नेपाल असल छिमेकी, असल दाजुभाइ, असल साझेदार र असल मित्रको सम्बन्धमा छन् । पारस्परिक सम्बन्धलाई महत्त्व दिँदै हाम्रा दुई देशले स्थायी मित्रता, अन्तर्राष्ट्रिय र क्षेत्रीय मुद्दाहरूमा राम्रो सहयोगको विशेषतासहितको बृहत्तर साझेदारी निर्माण गरेका छन् । आर्थिक रूपमा चीन र भारत दुई उदीयमान अर्थतन्त्रका बीचमा अवस्थित रहेको नेपाल चीन र दक्षिण एसिया जोड्ने एउटा महत्त्वपूर्ण सम्भाव्य व्यापारिक मार्ग हो । विगत केही वर्षमा आर्थिक र व्यापारिक सहयोगमा फलदायी विकास भएको छ, यद्यपि भविष्यमा दुई पक्षबीच अझै सहयोग विकास गर्ने ठूलो सम्भावना छ । सुरक्षाको दृष्टिकोणमा हेर्दा नेपाल र चीनको तिब्बत स्वायत्त प्रदेशको सीमा १४ सय किलोमिटरभन्दा बढी छ । दुवै पक्षले सुरक्षा र कानुन कार्यान्वयनका निम्ति आपसी सहयोगलाई क्रमशः बलियो बनाएका छन् र सीमा वारपार अपराधविरुद्ध लड्न सहकार्य गरिरहेका छन्, जसले सीमा क्षेत्रको सुरक्षा र स्थायित्वको सुरक्षा गर्छ ।

तिब्बती मुद्दा समाधानमा चिनियाँ दृष्टिकोण के हो ?

तिब्बत परापूर्वकालदेखि चीनको अभिन्न अंग रहँदै आएको छ । १३ औं शताब्दीको मध्यमा तिब्बत औपचारिक रूपमै युआन वंशीय शासनअन्तर्गतको चिनियाँ भूभागमा गाभिएको थियो । त्यसयता सात सय वर्षदेखि चीनको केन्द्र सरकारले निरन्तरमा तिब्बतमाथि स्वायत्तताको अभ्यास गर्दै आएको छ । तथाकथित 'निर्वासित तिब्बत सरकार' लाई न आजसम्म कुनै देशले मान्यता दिएका छन्, न त तिब्बतलाई कुनै देशले स्वतन्त्र राज्य मानेका छन् । तथाकथित 'तिब्बत मुद्दा' मानवअधिकार वा धार्मिक मुद्दासँग सम्बन्धित छैन, बरु यो विखण्डन वा विखण्डनविरोधी मुद्दासँग सम्बन्धित छ, जुन चीनको सार्वभौमिकता र भौगोलिक अखण्डताका निम्ति महत्त्वपूर्ण छ । तिब्बती मामिला चीनको आन्तरिक मामिला हो, त्यसैले हामी यसमा कुनै पनि वैदेशिक हस्तक्षेपको विरोध गर्छौं ।

तिब्बतप्रति नेपाल सरकारको धारणाप्रति तपाईंहरू कति सन्तुष्ट हुनुहुन्छ ?

तिब्बतलाई चीनको अभिन्न अंगको मान्यता दिँदै र कहिल्यै पनि कुनै शक्तिको चीनविरोधी गतिविधिलाई अनुमति नदिने अडान राख्दै नेपालका सबै प्रशासनले दृढ रूपमा एक चीन नीति अघि बढाएकामा चिनियाँ पक्ष उच्च प्रशंसा गर्छ । तथाकथित 'निर्वासित तिब्बत सरकार' केही पृथकतावादीको उत्पादन हो जो सशस्त्र विद्रोह सुरु गर्न असफल भए र विदेश भागे । विश्वको कुनै पनि देशको सरकारले यो 'निर्वासित सरकार' लाई मान्यता दिएको छैन र त्यसले कुनै वैधानिकता राख्दैन । चिनियाँ केन्द्रीय सरकारको सम्पर्क र छलफलको नीति स्थिर र प्रस्ट छ कि दलाई लामाका व्यक्तिगत प्रतिनिधि वार्तामा सहभागी हुन सक्छन् तर तथाकथित 'निर्वासित तिब्बत सरकार' का प्रतिनिधिले होइन ।

फराकिलो छिमेकी मुद्दामा लागौं । परिवर्र्तित भूराजनीतिक अवस्थामा भारत र चीन प्रायः नेपालमा प्रतिस्पर्धी शक्तिका रूपमा देखिएका छन् नि ?

चीन र नेपाल परम्परागत मित्रवत् छिमेकी हुन्, जोसँग एक हजार वर्षदेखि मित्रता आदानप्रदान भइरहेको लामो इतिहास छ । चीन र नेपालले सन् १९५५ अगस्ट १ मा औपचारिक कूटनीतिक सम्बन्ध स्थापना गरे । त्यसयता अन्तर्राष्ट्रिय र आन्तरिक परिस्थति जसरी परिवर्तन भए पनि चीन-नेपाल सम्बन्ध सधैं स्वस्थ्य र स्थायी रहेको छ । दुवै देश पारस्परिक सम्मान र विश्वास बाँड्छन् र एकअर्कालाई समान साझेदारको व्यवहार गर्छन् । यो सम्बन्ध विभिन्न आकार र विभिन्न सामाजिक प्रणालीबीचका देशहरूका लागि शान्तिपूर्ण सहअस्तित्व र साझा विकासको मौलिक मोडेल भएको छ । स्थायी मित्रताको विशेषतासहितको सहयोगको बृहत्तर साझेदारी विकास गर्नु दुवै देशका नागरिकको साझा चाहना हो । नेपालमा चीनको अरू कुनै देशसँग प्रतिस्पर्धा छैन ।

नेपालमा चीनका मुख्य लगानीका चाहना केके हुन् ? चीन गौतम बुद्धको जन्मस्थल लुम्बिनी विकासको महत्त्वाकांक्षी कार्यक्रमलाई सघाउन सहमत भएको हो ?

अहिले नेपालमा चिनियाँ लगानीका मुख्य परियोजनमा मेलम्ची खानेपानी परियोजनालगायतका जलविद्युत् परियोजना र केही दूरसञ्चार परियोजना छन् । चीन नेपाल सरकारसँग सहयोगका अन्य क्षेत्र जस्तो जलस्रोत, कृषि, पर्यटन, लुम्बिनी र पोखराको विकासलगायतका पूर्वाधारका क्षेत्रमा सहयोग विस्तार गर्न इच्छुक छ । संयुक्त रूपका लगानीबाहेक चिनियाँ पक्ष तातोपानी र काठमाडौं चक्रपथका सहयोग परियोजनाका लागि पूर्वाधार विकासमा सघाउन सहुलियत ऋण उपलब्ध गराउने कोसिस गरिरहेको छ ।

नेपाल-चीन व्यापारको भविष्यलाई कसरी हेर्नुहुन्छ ?

सन् २०१० मा चीन र नेपालबीचको व्यापार ७४४ मिलियन अमेरिकी डलर थियो जुन सन् २००९ को भन्दा ८० प्रतिशतले बढी हो । यसले दुवै पक्षबीचको व्यापार वृद्धि हुँदै गएको देखाउँछ । व्यापार असन्तुलन, विशेषगरी ठूलो अतिरिक्त व्यापार चीनको पक्षमा हुनुको मुख्य कारण नेपाली उत्पादनबारे चिनियाँ पक्षको जानकारीको अभाव हो भने त्यसको तुलनामा नेपाली पक्षको चिनियाँ सामानप्रतिको ठूलो माग हो । सन् २०१० जुलाइमा चिनियाँ पक्षले ४ हजार बढी नेपाली सामानलाई कर छुटको सुविधा उपलब्ध गराएको छ जसले चीन र नेपालबीचको व्यापार असन्तुलनबाट छुटकारा दिलाउन सकारात्मक भूमिका खेल्नेछ । हामी आशा गछौं बढीभन्दा बढी नेपाली उद्यम चिनियाँ सकारात्मक नीतिको पूर्ण उपयोग गर्न सक्षम हुनेछन् ।

चिनियाँ अधिकारीले पछिल्लोपटक नेपालमा पर्यटनको सम्भावनाबारे कुरा गरेका छन् । तपाईं यसलाईर् कसरी हेर्नुहुन्छ ?

काठमाडौं आएको ११ दिनमै मैले बुझें, नेपाल प्रशस्त पर्यटन स्रोत भएको मुलुक हो । हालैका वर्षमा चीन र नेपालबीच पर्यटक आदानप्रदानमा ठूलो प्रगति भएको छ । सन् २०१० मा ४३ हजार चिनियाँ नागरिकले नेपाल भ्रमण गरे जुन २००९ को भन्दा ४० प्रतिशतले बढी हो । यो वर्ष सन् २०११ मा नेपालको राष्ट्रिय पर्यटन वर्षले बढीभन्दा बढी चिनियाँ पर्यटकलाई आकषिर्त गर्नेछ । सन् २०११ को जनवरीबाट मे महिनासम्ममा १९ हजार चिनियाँ नागरिकले नेपाल भ्रमण गरे, जुन २०१० मा यही अवधिको भन्दा ४० प्रतिशतले बढी हो । चिनियाँ पक्ष पर्यटनसम्बद्ध नेपालका सरकारी विभागहरूसँग पर्यटन बजारको विकास गर्न र बढीभन्दा बढी चिनियाँ पर्यटक आकषिर्त गर्न सञ्चार र आदानप्रदान बलियो बनाउन इच्छुक छ ।

नेपाल र चिनियाँ अधिकारीबीच हालै भएका छलफलको एउटा मुद्दा नेपाललाई कसरी भारत-चीनबीचको पारवहन केन्द्र बनाउन सहयोग गर्ने भन्ने थियो । यसका लागि हिमालय वारपार रेलवे सन्जाल निर्माण गर्ने कुरा पनि थियो । यसबारे तपाईंको धारणा के हो ?

चीन र भारत दुई उदीयमान अर्थतन्त्रको बीचमा रहेको नेपालले आफ्नो अर्थतन्त्रको तीव्र विकासलाई महसुस गर्दै यो भौगोलिक फाइदाको पूर्ण उपयोग गर्न सक्छ । हालैका वर्षमा चीन र नेपालले रेल र व्यापार बिन्दु निर्माणका लागि संयुक्त पहल अघि बढाइरहेका छन् । पूर्वाधारमा सुधारका साथ हामीले द्विपक्षीय व्यापार आयतन, व्यक्तित्व आदानप्रदान र निकट आर्थिक सम्बन्ध बढेको देख्नेछौं । दक्षिण एसिया लक्षित बढीभन्दा बढी चिनियाँ उद्यमले नेपालमा लगानी गर्नेछन् जसका लागि चिनियाँ सरकारले नेपालमा लगानी गर्ने सकारात्मक वातावरण सिर्जना गर्नेछ । चिनियाँ पक्ष चीन र नेपालबीच स्थलमार्ग निर्माण गर्न सकारात्मक छ । रेलमार्ग निर्माणका लागि भने दुई पक्षबीच थप छलफल आवश्यक छ ।

अब केही राजनीतिक विषयमा लागौं । नेपालको संविधान निर्माण र शान्ति प्रक्रियालाई चीनले कसरी लिए
को छ ?


काठमाडौं मेरा लागि नयाँ ठाउँ हो तर नेपाल सरकार, राजनीतिक दल र केही सामाजिक संगठनका मित्रहरूसँगको भेटघाटपछि मलाई थाहा भयो कि लामो समयदेखि नेपाली नागरिक र नेपाली राजनीतिक दलको साझा चाहना भनेको शान्ति स्थापना गर्नु, छिटो स्थायित्व र विकासमा र्फकनु

हो । शान्ति प्रक्रियामा प्रगति र संविधान निर्माण नेपालका दुई मुख्य ऐतिहासिक कार्यभार हुन् । हरेक देशका लागि त्यहीँका नागरिक इतिहासको बाटो तय गर्ने निणर्ायक शक्ति हुन् । म इमानदारीपूर्वक आशा र विश्वास गर्छु कि सम्पूर्ण नेपाली जनता, जो नेपालका लागि उज्यालो भविष्य निर्माण गर्न सक्षम छन्, को प्रयासका साथ शान्ति विकास र संविधान निर्माण अन्ततः टुंगिनेछ ।

राजतन्त्रको समाप्तिपछि सामान्यतः चीनको नेपालका राजनीतिक दल र विशेषतः माओवादीसँगको सम्बन्धबारे धेरै छलफल भएका छन् । यसबारे तपाई कस्तो धारणा राख्नुहुन्छ ?

नेपाली राजनीतिक दलहरू राजनीतिक स्थायित्व, आर्थिक विकास र समुन्नत समाज निर्माणका महत्त्वपूर्ण शक्ति हुन् । स्वतन्त्रता, पूर्ण समानता, पारस्परिक सम्मान र एकअर्काको आन्तरिक मामिलामा अहस्तक्षेपजस्ता पार्टी-पार्टीबीचका सिद्धान्त अँगालेर चीनले सधैं नेपालका राजनीतिक दलसँगको भ्रमण आदानप्रदान र सम्पर्क विस्तारलाई महत्त्व दिएको छ । दुवै पक्ष सरकार-सरकारबीच र नागरिक-नागरिकबीचको मित्रताबाट लाभान्वित भएका छन् । नेपाल आगमनपछि मेरो एकीकृत माओवादी, नेपाली कांग्रेस र एकीकृत माक्र्सवादी लेनिनवादीका नेताहरूसँग मित्रवत् र खुला कुराकानी भएको छ । चीन-नेपाल मित्रवत् सम्बन्धको प्रबर्द्धन गर्ने उनीहरूको इमानदार चाहनाबारे अब म पूर्ण जानकार भएको छु । चिनियाँ पक्ष एकीकृत माओवादीलगायत सबै पार्टीसँग असल पार्टीगत सम्बन्ध कायम गर्न इच्छुक छ ।

जुलाइ १ मा चिनियाँ कम्युनिस्ट पार्टीले ९० औं वाषिर्कोत्सव मनायो । अब संसारकै ठूलो बन्न पुगेको यस पार्टीका सामु के-कस्ता चुनौती छन् ? प्रतिस्पर्धी आवाजलाई नसुनिएका गुनासा पनि आएका छन् । उदाहरणका लागि चिनियाँ असन्तुष्ट पक्षका आवाज पनि सुनिएका छन् ।

चिनियाँ कम्युनिस्ट पार्टी ९० वर्षपछि ५० सदस्यीय सानो पार्टीबाट सरकारमा ६० वर्षको अनुभव भएको ठूलो पार्टीका रूपमा विकास भएको छ । यससँग अहिले आठ करोड सदस्य छन् । सारमा भन्दा यसबीचका तीन घटना महत्त्वपूर्ण छन् । पहिलो, हामीले राष्ट्रिय स्वतन्त्रता र जनमुक्तिको कार्यान्वयन एवं नयाँ चीनको स्थापना गर्‍यौं जसमा जनता मालिक हुन् । दोस्रो, हामीले समाजवादको आधारभूत प्रणाली स्थापना गर्‍यौं र समाजवादको राष्ट्रिय आर्थिक प्रणाली र तुलनात्मक एकीकृत औद्योगिक प्रणाली पत्ता लगायौं । तेस्रो, हामीले चिनियाँ विशेषताको समाजवादी बाटो तय गर्‍यौं, समाजवादको बजार अर्थतन्त्र प्रणाली निर्माण गर्‍यौं, जसले राष्ट्रको बृहत्तर राष्ट्रिय क्षमता र जनताको जीवनस्तरमा ठोस सुधार गर्‍यो ।

हामीले ठूलो उपलब्धि हासिल गरे पनि अझै बाह्य र आन्तरिक दुवै खालका थुप्रै अप्ठ्यारा र चुनौतीहरू छन् । अन्तर्राष्ट्रिय सन्दर्भबाट हेर्दा संसारको आर्थिक र राजनीतिक संरचनामा नयाँ परिवर्तन भएका छन्, अन्तर्राष्ट्रिय आर्थिक संकटले विश्व अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ, संरक्षणवादका विभिन्न ढाँचा बाहिर आएका छन्, विश्वव्यापी मुद्दा जस्तो जलवायु परिवर्तन, ऊर्जा र स्रोत सुरक्षा, जनस्वास्थ्य सुरक्षा जल्दाबल्दा बनेका छन् र चीनको विकासका लागि बाह्य वातावरण जटिल र अप्ठ्यारो देखिन्छ । घरेलु रूपमा चीनको कुल गार्हस्थ उत्पादन (जीडीपी) र धेरै उद्योगको उत्पादन क्षमताले संसारको अग्रपंक्तिमा फड्को मारे पनि स्वतन्त्र अविष्कारको क्षमता कमजोर छ र अर्थतन्त्रको संरचना सापेक्ष रूपमा पिछडिएको छ । चीनको जीडीपी प्रतिव्यक्ति आय विश्वमा १ सय स्थानको हाराहारीमा छ जब कि जनताको जीवनस्तर निम्न छ र विभिन्न क्षेत्रबीचको विकास असन्तुलित छ ।

चिनियाँ कम्युनिस्ट पार्टीको ९० वर्षको इतिहास सहज रहेको छैन, यसले विकासको बाटोमा अघि बढ्ने क्रममा धेरै पराजय, गल्ती र विवादको अनुभव गरेको छ । तर हामी गल्ती अस्वीकार गर्दैनौं र विगतका गल्तीबाट पाठ सिक्न र पार्टीका सिद्धान्त र व्यवहारलाई निरन्तर सुधार गर्न सबै सामाजिक वर्गबाट आएका आवाजप्रति ध्यान दिन्छौं । चिनियाँ कम्युनिस्ट पार्टी चीनमा लामो समय शासन गर्ने पार्टी हुन सक्नुमा यो महत्त्वपूर्ण कारण हो ।

No comments:

Post a Comment

GREATER NEPAL