Pages

Saturday, August 6, 2011

उदाउ“दो छोङछिङ विकास मोडेल

हिमाल न्यौपाने
छोङछिङले विकासमा पछाडि रहेको चीनको पश्चिमी क्षेत्रको तीव्र विकासको नेतृत्व मात्र गरेको छैन, यसले धनी र गरिबबीचको फराकिलो अन्तर कम गर्न ठूलो भूमिका निर्वाह गरेको छ । विकास या आर्थिक वृद्धिसँगसँगै यो क्षेत्रले मानवीय विकास, सभ्यता र आवश्यक रोजगारी, स्वास्थ्यसेवा, घरबास तथा बसाइका लागि उपयुक्त वातावरण निर्माण गरिरहेको छ ।
हिमाल न्यौपाने
चिनियाँ कम्युनिस्ट पार्टीले यो वर्ष पार्टी स्थापनाको ९० औं वर्षगाँठ मनाइरहेको छ । कम्युनिस्ट पार्टीले चलाएको आधुनिकीकरण र आर्थिक उन्नतिले चीनलाई दोस्रो  शक्तिशाली अर्थतन्त्र भएको मुलुक बनाएको छ । माओको मौलिक विचारधारा, चिनियाँ विशेषतामा आधारित समाजवाद हुँदै देङ विचारधारा र विकासवाद्ले चीनलाई विश्व शक्तिको उदाउँदो ध्रुवका रूपमा विकास गर्दैछ । २१ औं शताब्दीको पहिलो दशक पूरा हुँदा अहिलेका राष्ट्रपति तथा पार्टी महासचिव हु जिन्ताओको विचार ‘वैज्ञानिक विकास’ लाई पार्टीको मार्गदर्शक सिद्धान्तमा जोडिएको छ । दर्शन या विचारधारामा आधारित पार्टी र शासनलाई यही विकासवाद्सँग जोड्दा चीनले थप अभूतपूर्व  फड्को मार्न सफल भएको छ । विकासवाद्लाई अघि बढाउने चिनियाँ नेतृत्वको पाँचौं पुस्ता युवा संगठनको धारबाट आएकाले परिवर्तनको नेतृत्व बढी सबल र परिचालन गर्न सक्षम तथा परिणाममुखी भएको मानिन्छ ।
तर, देङस्याओ पिङको सुधार र त्यसलाई पछ्याउँदै पुस्तान्तरण भइरहेको चिनियाँ नेतृत्वको शासन ३० वर्षभन्दा बढी समय बित्दा चिनियाँ कम्युनिस्ट पार्टीले चीनको समृद्धिको जति जस लिएको छ, त्यति नै बजार अर्थतन्त्रका दुष्परिणामले कम्युनिस्ट पार्टीको वैधता गुमाउँदै गएको भनेर आलोचना पनि हुने गरेको छ । यस्ता आलोचनाका शब्दहरू नेपालका आफूले आफैंलाई जब्बर माओवादी भन्नेहरूका लेख तथा भाषणहरूमा पनि पाइन्छ । यस्तो सस्ता आलोचनालाई जवाफ दिने गरी चीनमा अनकौं प्रयोगहरू भइरहेका छन्, जसलाई चिनियाँहरूले गतिशील र मौलिक विकासको नाम दिएका छन् । यस्तै एउटा बलियो उदाहरण हो— ‘छोङछिङ मोडेल’ । छोङछिङका पार्टीसचिव बो सिलाईले अघि सारेको आर्थिक वृद्धिसँगै सामाजिक विकासको अवधारणाले कम्युनिस्टहरूप्रति बढेको आलोचनालाई साम्य पार्दै समर्थनतर्फ खिचिदिएको छ । यही छोङछिङ मोडेलले आधुनिकता, आर्थिक वृद्धि र समाजवादको खाकालाई एकाकार गर्दै आधुनिक समाजवादको नमुना स्थापित गर्ने प्रयास थालेको छ ।
तातो कचौरा, चिकन सुप र छरिता केटीहरूको सहरका रूपमा चिनिने छोङछिङलाई विकासको नाममा रातो सहर अर्थात् ‘रेड सिटी’ का रूपमा चिनाउन थालिएको भन्नेहरू पनि छन् । छोङछिङ मोडेल या क्याम्पेनलाई सन् १९६६ देखि ७६ सम्मको सांस्कृतिक क्रान्तिसँग दाँजेर व्याख्या गर्ने प्रयास पनि नभएका होइनन् । सन् २०१२ को महाधिवेशनमा पार्टीको शक्तिशाली पोलिट्ब्युरोमा आउन सक्नेमा छोङछिङ पार्टी सचिव बो सिलाईको सम्भावनासँग तुलना गर्दै कतिपयले त्यहाँको विकास मोडेललाई राजनीतिक शक्ति हात पार्ने प्रयासका रूपमा समेत चित्रण गरेका छन् ।
आखिर के भइरहेको छ, छोङछिङमा ? जसले विकासको गतिमा कुदेको देशभित्र र बाहिर विश्वमा सबैको ध्यान तानिरहेको छ र कम्युनिस्ट हुनुको अर्थ बुझाइरहेको छ । छोङछिङ, चीनको पश्चिम क्षेत्रमा पर्ने सबैभन्दा बढी झन्डै साढे ३ करोड जनसंख्या भएको महानगर हो । छोङछिङको विकास अभूतपूर्व छ र त्यसले एउटा नमुनाका रूपमा आफूलाई विकास गर्दैछ । छोङछिङका विकास आँकडा हेर्दा पछिल्ला वर्षहरूमा त्यहाँको आर्थिक वृद्धिदर १६ प्रतिशतको हाराहारीमा पुग्यो । यो चीनको कुल आर्थिक वृद्धिदर भन्दा झन्डै दोब्बर हो । सन् २०१० मा त कुल गार्हस्थ्य उत्पादन १७ प्रतिशतको हाराहारीमा थियो । वैदेशिक लगानी चार वर्षको अन्तरमा तेब्बर वृद्धि हुँदै साढे ६ अर्ब डलर नाघेको छ । आधुनिक औद्योगिक उत्पादन हेर्दा छोङछिङ विश्वकै सबैभन्दा धेरै ल्यापटप उत्पादन गर्ने सहरका रूपमा चिनिन्छ । छोङछिङमा मात्रै वर्षको झन्डै दस लाखवटा ल्यापटपको उत्पादन हुन्छ । छोङछिङलाई चीनकै निर्यात अर्थतन्त्रको मुख्य खम्बाका रूपमा लिइन्छ ।
छाङछिङले आफूलाई अन्तर्राष्ट्रिय व्यापारिक ‘हब’का रूपमा पनि विकास गर्दैछ । नयाँ अन्तर्राष्ट्रिय विमानस्थल, जसको क्षमता वार्षिक ७ करोड यात्रुलाई सेवा दिन सक्नेछ । आठवटा तीव्र गतिको रेल्वे लाइनको निर्माण भइरहेको छ र यसले चीनको बाँकी भाग र अन्य एसियाली देशलाई समेत जोड्दैछ ।
यसरी छोङछिङले विकासमा पछाडि रहेको चीनको पश्चिमी क्षेत्रको तीव्र विकासको नेतृत्व मात्र गरेको छैन, यसले धनी र गरिबबीचको फराकिलो अन्तर कम गर्न ठूलो भूमिका निर्वाह गरेको छ । विकास या आर्थिक वृद्धिसँगसँगै यो क्षेत्रले मानवीय विकास, सभ्यता र आवश्यक रोजगारी, स्वास्थ्यसेवा, घरबास तथा बसाइका लागि उपयुक्त वातावरण निर्माण गरिरहेको छ । गत दुई वर्षमा छोङछिङले सामाजिक क्षेत्रमा मात्रै साढे चार करोड डलर खर्चेको छ । छोङछिङले कुल बजेटको झन्डै आधा रकम जनताको जीवन सहज गर्ने परियोजनाहरूमा खर्च गर्छ । जबकि चीनको राष्ट्रिय बजेटमा यस्तो रकम जम्मा ३० प्रतिशतको हाराहारीमा मात्र छ । साना तथा मझौला उद्योगलाई दिइने २० लाखको ऋण सुविधाले मात्र वार्षिक झन्डै ३५ लाख जनाका लागि रोजगारी सिर्जना भएको छ ।
यसैगरी गत वर्ष छोङछिङले झन्डै ५ लाख जनसंख्यालाई, जसको महिनाको सरदर आम्दानी २ हजार युआनभन्दा कम छ, उनीहरूका लागि घर तथा अपार्टमेन्टहरू निर्माण ग¥यो । यसले ६० वर्षयता चिनियाँ समाजमा व्याप्त ग्रामीण र सहरी बसोबासमा भएको विभाजनलाई कम गर्न सुरु ग¥यो । छोङछिङले पहिलो पटक ग्रामीण क्षेत्रका बासिन्दाहरूलाई समेत सहरी बसोबासको अनुमतिपत्र दिएर सहर र गाउँका बासिन्दालाई बराबर सुविधा लिन पाउने व्यवस्था ग¥यो ।  त्यहाँका बासिन्दाले हङकङका बासिन्दाले भन्दा राम्रो धेरै संख्यामा सस्तो मूल्यमा घर तथा अपार्टमेन्टहरू प्राप्त गरिरहेका छन् । अमेरिकी सहर सिकागोमा रहेका गगनचुम्बी भवनहरूको संख्या भन्दा छोङछिङमा बढी गगनचुम्बी महलहरू देखिँदैछन् ।
राष्ट्रसंघिय विकास कार्यक्रम युएनडीपीका प्रशासक हेलन क्लार्कको भनाइ छ, “छोङछिङले गरिबी कम गर्नेसँगै गरिब र धनीबीचको अन्तर कम गर्दै समानताका लागि उदाहरण स्थापित गरेको छ । सबै जना अघि बढ्दा सँगै हिँड्यो भने त्यसले राम्रो परिणाम ल्याउँछ, छोङछिङमा भइरहेका घटनाले चीनमा मात्र होइन, विश्वमै खास अर्थ राख्नेछ ।’
छोङछिङमा, आर्थिक विकासको तीव्र गतिसँगै जनतालाई सर्वसुलभ बसोबासको व्यवस्था, सुरक्षा, राम्रो वातावरण, यातायात व्यवस्था दीर्घजीवनका आधारहरू दिन राज्य सक्षम हुनुपर्छ भन्ने शासकीय मोडेलको विकास भइरहेको छ । यसरी हुर्कंदो छोङछिङ सपनाले चिनियाँ नमुनाका रूपमा वैधता पाउँदैछ ।
बेइजिङस्थित छिङ्ह्वा विश्वविद्यालयका प्राध्यापक लि सिक्वाङले केही समयअघि काठमाडौंमा छोङछिङ विकास मोडेलको व्याख्या गर्दै भनेका थिए, “छोङछिङको विकास मोडेल अल्पविकसित मुलुक र क्षेत्रहरूका लागि सही साबित हुन सक्छ । असल र सक्षम नेतृत्वको दृढता भयो भने विकास र समृद्धि टाढाको कुरा होइन भन्ने कुरा छोङछिङले प्रमाणित गरिसकेको छ ।” त्यो अझै नेपालजस्ता जहाँ कम्युनिस्टहरूको ठूलो प्रभाव छ, उनीहरूले आफ्नो प्रभावलाई जनताको विकाससँग जोड्ने हो भने छोङछिङको नेतृत्वबाट धेरै कुरा सिक्न सक्नुपर्छ ।
छोङछिङ र नेपालको भौगोलिक अवस्था लगभग उस्तै छ । विकासका लागि सही नेतृत्व पाए नेपालले छोङछिङको बाटो समात्दै समृद्धि हासिल गर्न धेरै समय लाग्नेछैन, तर यसका लागि विकासमा समर्पित दृढ नेतृत्व पहिलो आवश्यकता हो । बदलिएको छोङछिङबाट नेपालले आर्थिक, व्यापारिक र मानवीय विकासमा धेरै फाइदा लिन सक्छ । सबैभन्दा बढी त कम्युनिस्ट नेतृत्वले आमजनताको जीवनस्तरलाई आफ्नो दर्शन या सिद्धान्तसँँग कसरी जोड्दै अघि बढ्नुपर्छ भन्ने पाठ सिक्न छोङछिङ मोडेल गतिलो नमुना हुन सक्छ । गत हप्ता नेपाल आएको छोङछिङ मिडिया डेलिगेसनका प्रमुख तथा छोङछिङ सूचना विभागका उपमहानिर्देशक झाओ बोको भनाइ थियो, “जनताको जीवनस्तर उकास्ने काममा ढिलाइ नगरी छोङछिङको विकासका नमुना र अनुभवबाट फाइदा उठाउन नेपालको नेतृत्व आफंै अग्रसर हुन जरुरी छ ।”

No comments:

Post a Comment

GREATER NEPAL